काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले देशको जिम्मेवार जनप्रतिनिधिले कुरा नबुझि क्यान र भारतीय कम्पनिबीचको सम्झौताबारे संसदमा कुरा उठाउनु दुखद कुरा भएको बताएका छन् ।
क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गर्दै अध्यक्ष चन्दले व्यक्ति र दलालहरुलाई पक्षपोषण गर्ने खालका कुरा आउनु सुखद भएको बताएका हुन् ।
'देशको जिम्मेवार जनप्रतिनिधिबाट त्यस्तो कुरा आउनु, व्यक्तिलाई पक्षपोषण गर्ने, दलालहरुलाई पक्षपोषण गर्ने खालका कुराहरु आउनु आफैमा दुखद कुरा जस्तो लाग्छ,' अध्यक्ष चन्दले भने, 'त्यसको गहिराइमा, भित्रि कुरामा, त्यसको उदेश्यमा नगईकन यस्तो कुराहरु नभईदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ ।'
क्यानले आयोजना गर्ने फ्रेन्चाईज क्रिकेट नेपाल टी-ट्वान्टी लिगका लागि सेभेन थ्री स्पोर्टससँगको सम्झौताबारे संसद बैठकमा एमालेका संसद गोकुल बास्कोटाले कुरा उठाएका थिए ।
बास्कोटाले क्यानका अध्यक्ष चन्दले चतुर्याई गर्दै विदेशी कम्पनीलाई नेपाली क्रिकेटको सबै कानुनी र प्रोपर्टी अधिकार दिने कुरा सामान्य विषय नभएको उल्लेख गर्दै खेलकुद मन्त्रीले यसमा चासो राख्नुपर्ने धारणा राखेका थिए ।
क्यानले सेभेन थ्री स्पोर्टसलाई प्रतियोगिताको कमर्सियल र रणनीतिक अधिकार दिने निर्णय गरेको थियो ।
यस्तै अध्यक्ष चन्दले क्यान बलियो बनाउनु भन्दा पनि खेलाडीले अधिकतम खेल्न पाउनु पर्छ, खेलाडी आर्थिक रुपमा बलियो हुनुपर्छ भने नेपाल टी-ट्वान्टी लिग आयोजना गर्न लागिएको बताए ।