काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्षमा पंकज बिक्रम नेम्वाङलाई एसियन फुटबल कन्फेडेरेसन (एएफसी) का अध्यक्षले बधाई दिएका छन् ।
एएफसीका अध्यक्ष सलमान बिन इब्राहिम अल खलिफाले शुक्रबार एक पत्र पठाउँदै अध्यक्षमा निर्वाचित भएकामा नेम्वाङलाई बधाई दिएका हुन् ।
अध्यक्ष खलिफाले पठाएको पत्रमा नेम्वाङ निर्वाचित हुनु नेपाली फुटबल परिवारले उनको क्षमतामा विश्वास गरेको र विश्वासको प्रमाण भएको उल्लेख छ ।
यस्तै नयाँ नतृत्वसँग सहकार्य गर्दै काम गर्न एएफसी तत्पर रहेको उल्लेख छ ।
'एसियाली फुटबल महासंघ नेपालमा फुटबल विकासका लागि पूर्ण समर्थन रहने कुरामा विश्वस्त हुनुहोस,' पत्रमा भनिएको छ, 'एसियामा हाम्रो खेललाई अझ उचाइमा पुर्याउन म तपाईसँग नजिकबाट काम गर्न तत्पर छु ।'
काठमाडौंको बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमबार भएको निर्वाचनबाट नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षका अर्का प्रत्यासी कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।