काठमाडौं । पूर्ण शंकर श्रेष्ठ दोस्रो संस्करणको देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता भदौ तेस्रो साता आयोजना हुने भएको छ ।
आयोजक स्पिन इभेन्ट्स प्रालिले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २१ देखि २५ गतेसम्म आयोजना हुने जनाएको छ ।
अखिल नेपाल टेबल टेनिस संघको तत्वावधानमा वार्षिक कार्यक्रम अन्तर्गत रहेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।
प्रतियोगितामा देश भरका वडाका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान्स सिंगल्स (६० वर्षमाथि गरि ७ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
वर्तमान शीर्ष १६ वरीयता प्राप्त टेबल टेनिस खेलाडी बाहेकका अन्य खेलाडीहरूले प्रतियोगितामा भाग लिन सक्नेछन् ।
प्रतियोगिताको मेन्स/वुमेन्स सिंगल्स स्पर्धाको प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार पाउने छन् ।
यस्तै भेट्रान्स सिंगल्सतर्फ प्रथम, द्वितीय र तृतीय (दुवै सेमी-फाइनलिष्ट) हरूलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय प्रदान गरिने छन् ।
त्यस्तै प्रतियोगितामा सर्वाधिक पदक जितेर टिम च्याम्पियन बन्ने वडालाई ५० हजार र रनिङ्ग शिल्ड प्रदान गरिनेछ ।