काठमाडौं । कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस च्याम्पियनसिप आगामी भदौमा आयोजना हुने भएको छ ।
अखिल नेपाल टेबल टेनिस संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौमा आयोजना हुने जानकारी गराएको छ ।
प्रतियोगिताको मिति भने सार्वजनिक गरिएको छ । थप आवश्यक छलफल गरेर प्रतियोगिताको मिति घोषणा गरिने बताईएको छ ।
प्रतियोगिताका लागि संघले पूर्व राष्ट्रिय च्याम्पियन कल्याणराज पाण्डेसँग सझौता गरेको छ । संघका अध्यक्ष चतुरानन्द राज बैद्य र कल्याणराज पाण्डेका छोरा कुशलराज पाण्डेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतासँगै प्रत्येक वर्षको भदौमा यस प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगिता आयोजनाका लागि कल्याणराजको परिवारले ६ लाख रुपैंया प्रदान गर्नेछ । उक्त रकम नेपालको प्रतिष्ठित र फिनान्स कम्पनीमा मुद्दति खातामा जम्मा गरिनेछ ।
यसबाट प्रत्येक वर्ष आउने अनुमानित ब्याज ७० हजार रुपैंया हुनेछ र यसै रकमबाट प्रत्येक वर्ष यस प्रतियोगिताको आयोजना हुनेछ ।
प्रतियोगिताको पहिलो वर्ष ब्याज प्राप्त नहुने हुँदा उनको परिवारले ७० हजार रुपैंया नगद प्रदान गर्नेछ ।
यस्तै संघले लगातार दुई वर्षसम्म प्रतियोगिता आयोजना गर्न सकेन भने मुद्दति खातामा जम्मा भएको रकम उनको परिवारले फिर्ता लिनेछ ।
प्रतियोगिता आयोजनाका सबै प्राविधिक जिम्मेवारी संघको हुनेछ । प्रतियोगिताको सफल आयोजनाका लागि भविष्यमा थप व्यापारिक प्रायोजन गर्न सकिनेछ र यसबारे उनको परिवारलाई जानकारी दिनु पर्ने संघले जनाएको छ ।
यस्तै अखिल नेपाल टेबल टेनिस संघले नेपाल खेलकुद पत्रकार मन्चलाई विधुतीय सामग्री सहयोग गरेको छ ।
संघका अध्यक्ष चतुरानन्दले मन्चका कोषाध्यक्ष सुजन श्रेष्ठलाई विधुतीय सामग्री प्रदान गरे ।