काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले फुटबललाई घर चलाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।
आगामी असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै शेर्पाले फुटबललाई घर चलाउने माध्यम नबनाउन आग्रह गरेका हुन् ।
शेर्पाले भने, 'फुटबलमा काम गर्ने र नगर्ने चिनिन्छ । फुटबलमा लगानी गर्ने र नगर्ने चिनिन्छ त्यसैले म यहाँ भन्छु फुटबललाई घर चलाउने माध्यम नबनाएस ।'
यस्तै शेर्पाले चार वर्षमा चाहेजति गर्न नसकेको भएपनि कोभिडको टाइममा पनि राम्रो गरेको बताए । उनले नीतिगत रुपमा फुटबललाई अगाढी बढाउने काम गरिएको बताए ।
'चार वर्षमा चाहे जति काम गर्न सकिएन तर कोभिडको समयमा पनि धेरै काम गर्न सक्यौं,' उनले थपे, 'फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम चार वर्षमा गर्यौं ।'
अध्यक्ष शेर्पाले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ कार्यकालका लागि उम्मेदवारीको घोषणा गरेका हुन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।
सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
महिला सदस्य बाँकी रहेको छ ।
पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधि सहभागी थिए ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ ।
यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।
यस्तै पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।