काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।
एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।
अध्यक्ष शेर्पाले सोमबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारीको घोषणा गरेका हुन् ।
शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए ।
यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह, रत्नकुमार श्रेष्ठ र बिज्ञानराज शर्माले उम्मेदवारी दिने भएका छन् ।
सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।
महिला सदस्य बाँकी रहेको छ ।
उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा कोभिडको प्रभावका बीच धेरै काम भएको दाबी गरे । उनले फुटबलको संस्थागत विकासमा लागि निरन्तर परिवर्तन गर्न नीतिगत प्रस्टता अघि बढ्ने धारणा राखेका थिए । उनले आफ्नो चार वर्षे कार्यकालमा फुटबललाई नीतिगत रुपमा अघि बढाउने काम गरेको बताए ।
उनले आफ्नो चार वर्षे कार्यकालको मुल्याङ्कन गरेर भोट दिन मतदातामाझ अपिल गरे ।
संस्थापन पक्षले आफ्नो पक्षमा ५३ जना भन्दा बढी भोटर संख्या खुलेको दाबी गरेको छ । एन्फा निर्वाचनमा जिल्ला, क्लब र संघबाट ८७ जनाले मतदान गर्नेछन् । पत्रकार सम्मेलनमा विभिन्न जिल्ला, क्लब र संघका प्रतिनिधि सहभागी थिए ।
एन्फाको आसन्न निर्वाचनका लागि शुक्रबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भईसकेको छ । यस अघि पंकज नेम्बाङले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराईसकेका छन् ।
यस्तै पंकज प्यानलबाट वरिष्ठ उपाध्यक्षमा विरबहादुर खड्काले उम्मेदवारीको घोषणा गरेका छन् ।