काठमाडौं । एभरेष्ट स्कुलका आर्यन शाही र नेपाल प्रहरी स्कुलकी शुभश्री श्रेष्ठले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।
यु–१२ सिंगल्सको ब्वाइजमा आर्यन र गर्ल्समा शुभश्री पहिलो भएका हुन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा आर्यनले न्यु होराइजनका सुविन थापालाई ११–५, ८–११, ११–७ र ११–९ को सेटमा पराजित गरे । आदर्श विद्या मन्दिर (एभीएम) का अतित गुरुङ र जेश्नु महर्जन तेश्रो भए ।
गर्ल्समा स्वर्ण भिडन्तमा शुभश्रीले एभीएमकी अर्सना महर्जनलाई ११–३, ११–२ र ११–५ को सोझो सेटमा हराइन् । प्रोक्सिमा इन्टरनेसनल एकेडेमीकी प्रज्ञा भेले र एलटीटीसीकी सुरम्या शाक्य तेश्रो बने ।
स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको क्याडेट ब्वाइज सिंगल्समा सुनसरीका सिद्धार्थ तामाङ पहिलो भए । उनले फाइनलमा एभीएमका एलेन महर्जनको चुनौती ११–४, ७–११, ११–७, ८–११ र ११–६ ले पन्छाए । भानुभक्त स्कुलका उज्ज्वल मानन्धर र दरबार हाइ स्कुलका शंकर पहरीले तेश्रो स्थानमा चित्त बुझाए ।
उक्त स्पर्धाको गर्ल्स फाइनलमा एपीएफकी इभाना थापा मगरले प्रभात इङलिस स्कुलकी प्रदिपा सुवाललाई ११–८, ११–३ र ११–४ को सोझो सेटमा पाखा लगाउदै शीर्ष स्थान कब्जा गरिन् । एपीएम क्लबकी योङगी पौडेल र नेपाल आर्मीकी सुस्मिता खड्का तेश्रो स्थानमा रहे ।
जुनियर ब्वाइजको सिंगल्समा एपीएफका रुविन महर्जन र मोरङका बोधित डिसीले फाइनल भिडन्त पक्का गरेका छन् । सो स्पर्धाको गर्ल्समा एपीएफकी वियंका राई र आर्मीकी दिया देउलाले फाइनल खेल्ने छन् ।
विभिन्न ८ स्पर्धा समावेश प्रतियोगितामा ६ स्पर्धाको फाइनल सम्पन्न भएको छ । बाँकी २ स्पर्धाको फाइनल अन्तिम दिन सोमबार हुने छ ।