काठमाडौं। काठमाडौंका चन्दन शाही र ललितपुर जिल्ला टेबलटेनिस संघका राजेन्द्र वज्राचार्यले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् ।
भेट्रान पुरुष सिंगल्सको ४० वर्षमाथि चन्दन र ५० वर्षमाथि राजेन्द्र पहिलो भएका हुन् ।
स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ४० वर्षमाथि फाइनलमा चन्दनले एमआईएसका नरेश रावललाई ७–११, ११–८, ११–३, ११–७ र ११–६ को सेटमा पराजित गरे । ललितपुरका राजिप महर्जन र कीर्तिपुरका प्रशान्त महर्जनले तेश्रो स्थानमा चित्त बुझाए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ५० वर्षमाथि फाइनलमा राजेन्द्रले एनसीसीएसका कपुर शर्मा पौडेललाई १२–१४, ७–११, ११–७, ११–८, ११–८ र १४–१२ को सेटमा हराए । एपीएमका विश्वास गौचन र एएनएस १९८० का किरणमुनि वज्राचार्य तेश्रो बने ।
प्रतियोगितामा भेट्रान र विभिन्न उमेरसमूह गरी ८ स्पर्धा रहेको आयोजक स्पिनका सचिव ज्याकी महर्जनले जनाएका छन् । आठै स्पर्धामा नगद पुरस्कार राखिएको छ । सोमबारसम्म चल्ने प्रतियोगितामा करिब २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजकमा अमेरिका बस्ने श्रवण चिपालु रहेका छन् । स्व. मिलन श्रेष्ठ टेबलटेनिसका पूर्व खेलाडी हुन् ।