दोस्रो काठमाडौं अन्तर्राष्ट्रिय ग्यरोगी र पुम्से तेक्वान्दो च्याम्पियनसिपको पहिलो दिन पारा तेक्वान्दोतर्फ नेपालले ३ स्वर्ण जितेको छ । शुक्रबार भएको पहिलो दिनको खेलमा नेपालले पारातर्फ ४ विधामध्ये ३ विधामा स्वर्ण जितेको प्रशिक्षक कल्याण कुँवरले जानकारी गराए ।
राष्ट्रिय खेलकुद परिषद्(राखेपको) कभर्डहलमा पाराको महिला ४८ केजीमुनि के–४४ विधामा नेपालकी पलेशा गोवर्धनले स्वर्ण जित्दा फाइनलमा नेपालकै सीता भण्डारीलाई हराइन् । भारतकी भिना अरोरा सो विधा कांस्य जित्न सफल भइन् ।
पुरुषतर्फ ४० केजीमुनि के–४१ विधामा नेपालका सोम सुनवारले नेपालकै दीपेश महतलाई हराउँदै स्वर्ण जिते । पाराको पुरुष ५८ केजीमुनि के–४४ विधामा भारतका मोहम्मद हैदरले नेपालका गोविन्द थापालाई हराउँदै स्वर्ण जिते । ६९ केजीमुनि के–४२ मा नेपालका रामबहादुर अधिकारीले नेपालकै संघु भोटेलाई हराउँदै स्वर्ण पदक आफ्नो बनाउन सफल भए ।