काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको छ ।
एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले विवादको सत्यतथ्य पहिचान गर्न छानबिन समिति गठन गरेको हो ।
खेलाडी र प्रशिक्षकबीच विवाद देखिएपछि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङ, उपाध्यक्षद्वय विरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठक माग गरेपछि बैठक बसेको हो ।
एन्फाले नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर राणाको संयोजकत्वमा तीन सदसीय कमिटी गठन गरेको हो।
कमिटीमा पूर्व खेलाडी बिदुर विष्ट र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापा रहेका छन् ।
कमिटीले ७ दिन भित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेश गर्नेछ ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै बैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले होटल सुविधाको माघ राख्दा प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताउँदै आएका छन् ।