काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद समाधानको लागि नयाँ छानबिन समिति गठनको माग गरेको छ ।
एनएनआईपीएले शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) सँग गठिन समिति व्यवहारिक नभएको भन्दै नयाँ समिति गठनको माग गरेको हो ।
एनएनआईपीएले एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई नयाँ समिति गठनको मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले शेर्पालाई ज्ञापनपत्र हस्तान्तरण गरे ।
एन्फाले गत बुधबार मुख्य प्रशिक्षक अलमुताईरी र खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको थियो ।
एन्फाले सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर शमशेर जबरा रहेको एक सदस्सीय कमिटी गठन गरेको हो ।
तर, एनएनआईपीएले एक सदस्सीय छानबिन समिति व्यवहारिक नभएको जनाएको छ ।
'पीडित खेलाडीहरुलाई अमान्य रहेको गठित एक सदस्यीय छानविन समिति एनएनआईपीएलाई पनि नीति सम्मत एवं व्यवहारिक नभएको बुझाई रहेको छ यसर्थ देशको गौरवसग जोडिएको गम्भिर विषयमा न्यायिक तथा प्रभावकारी छानविन गर्नको निमित्त न्युनत्तम ३ वा सो भन्दा बढी सदस्य रहने गरी सबै पक्षले विश्वास गर्न लायक नयाँ छानविन समिति गठन गर्न एनएनआईपीए माग गर्दछ,' ज्ञापनपत्रमा लेखिएको छ ।
एनएनआईपीएले एक सदस्यीय छानविन समितिबाट उचित न्यायिक छानविन हुने विषयमा एन्फाकै कार्य समितिका अन्य पदाधिकारी लगायत पीडित खेलाडीहरुलाई विश्वसनीय नभएको टिक्का-टिप्पनी भइरहेको विषयमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
एक साता अघि मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए ।