काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवादको सत्यतथ्य पहिचान गर्न कमिटि गठन गरेको छ ।
एन्फाले बुधबार सत्यतथ्य पहिचान गर्न नेपाली सेनाका पूर्व उपरथी तथा पूर्व खेलाडी भिक्टर शमशेर जबरा रहेको एक सदस्सीय कमिटी गठन गरेको हो ।
कमिटिले एक हप्तामा विवादको सत्यतथ्य पत्ता लगाएर एन्फालाई प्रतिवेदन बुझाउने छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुबै पक्ष छानबिन समिति गठन गर्न राजी भएका थिए ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए ।
खेलाडीले घटनाको छानबिन गर्न एन्फालाई ज्ञापनपत्र समेत बुझाएका थिए ।