काठमाडौं । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र बन्द प्रशिक्षण छाडेका खेलाडीबीचको विवाद समाधानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छानबिन समिति गठन गर्ने भएको छ ।
एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुबै पक्ष छानबिन समिति गठन गर्न राजी भएका हुन् ।
खेलाडीसँगको भेटपछि अध्यक्ष शेर्पाले छानबिन समिति बुधबार गठन गरिने जानकारी दिए । छानबिन समितिले चार दिन भित्र प्रतिवेदन बुझाउने छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए ।
खेलाडीले एन्फा अध्यक्षलाई भेट्नु अघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङलाई भेटेका थिए ।
यस्तै अखिल नेपाल फुटबल खेलाडी संघले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई ज्ञापनपत्र बुझाएका थिए।