काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट बिद्रोह गरेका खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङसँग भेट गरेका छन् ।
खेलाडीहरुले मंगलबार सदस्य सचिव घिसिङसँग राखेपमा भेट गरेका हुन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को पहलमा खेलाडीले सदस्य सचिव घिसिङसँग भेट गरेका हुन् ।
भेटमा सदस्य सचिवले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई विवाद निकासको लागि पहल गरिरहेको जानकारी गराएको एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठले जानकारी गराए ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बिद्रोह गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए ।
खेलाडीहरु विवाद समाधानका लागि पहल गरिदिन सम्बन्धित निकायसँग गुहार मागिरहेका छन् ।