काठमाडौं । अखिल नेपाल फुटबल खेलाडी संघले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई ज्ञापनपत्र बुझाएका छन् ।
राष्ट्रिय फुटबल टिमको पछिल्लो घटनाको सत्यतथ्य छानबिन गर्नका लागि सहयोगको माग गर्दै संघले मंगलबार ज्ञापनपत्र बुझाएको हो ।
संघका नवनिर्वाचित अध्यक्ष बिक्रम लामाले एनएनआईपीएका अध्यक्ष दिपक श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझ्दै श्रेष्ठले पीडित खेलाडीहरुको न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले घटनाले आफुहरु दुखी भएको र खेलाडीलाई आफ्नो हकहितमा लड्नका लागि पछि नहट्न आग्रह गरे ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बिद्रोह गर्दै बन्द प्रशिक्षण छाडेका थिए ।
क्याम्प छाडेका खेलाडीले प्रशिक्षक अलमुताईरीले पटक पटक क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर प्रशिक्षण छाडेको बताएका थिए ।