पोखरा । पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पदाधिकारीहरुलाई बधाई ज्ञापन गरेको छ ।
मञ्चको हालै सम्पन्न अधिवेशनबाट नवनिर्वाचित पदाधिकारीलाई समितिले आइतबार एक समारोहका बिच पोखरा रंगशालामा स्वागत तथा बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य राजेश गुरुङ र पश्चिमाञ्चल खेलकुद विकास समितका कार्यालय प्रमुख लक्ष्मण योगीले मञ्चका अध्यक्ष दीननाथ बराल सहितको पदाधिकारीहरुलाई टिका र खादा लगाएर स्वागत एवं बधाई ज्ञापन गरे ।
कार्यक्रममा बोल्दै राखेप सदस्य गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक सबै पूर्वाधारहरु तयार रहेको बताए । उनले नवौं राष्ट्रिय खेलकुदलाई कुम्भ मेलाका रुपमा अथ्र्याउँदै ३६ खेललाई बढाएर अझै केही खेलहरु थप गर्ने विषयमा आफूहरुको योजना रहेको बताए ।
प्रतियोगिता आगामी जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लामा खेल सञ्चालन गर्ने तयारी भइरहेको छ ।
कार्यक्रममा मञ्चका अध्यक्ष बरालले खेल, खेलाडी र खेलसंघहरुसँग सहकार्य गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदै गर्दा यसलाई सफल पार्न सहकार्य गरेर अगाडी बढ्न आग्रह गरे ।
नवौं खेलकुद लक्षित गरी छलफल कार्यक्रम र पोखरा स्पोट्र्स अवार्ड असार पहिलो साता गर्ने तयारी गरेको अध्यक्ष बरालले जनाए ।