काठमाडौं । चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजक ललितपुर टेबलटेनिस क्लबले जनाएको छ ।
सम्झना ल्याबको प्रमुख प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा हुन लागेको प्रतियोगिता लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालबाट ३ सय ४७ तथा भारतबाट ३८ खेलाडीको सहभागिता रहने स्पिन इभेन्टका अध्यक्ष सुमन शाक्यले जानकारी गराए ।
पुरुष÷महिला सिंगल्स र टिम, भेट्रानको पुरुष ४० वर्षमाथि र ५५ वर्षमाथि तथा महिला ४० वर्षमाथि गरी ७ स्पर्धामा खेल हुने छ । सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । भेट्रानतर्फ विजेतालाई १० हजार, उपविजेतालाई ५ हजार तथा तेश्रोलाई २ हजार ५ सय नगदबाट पुरस्कार गरिने छ ।
प्रतियोगिताको पहिलो दिन महिला टिम इभेन्टको फाइनल हुने छ । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधानमा हुने प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा नेपाली घर रहेको छ ।