काठमाडौं । पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पाहुना टोली पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपाल पराजित भएको छ ।
टियु क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको हो ।
पीएनजीले दिएको २ सय ९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २ सय ८६ रन बनायो।
रोहितले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङमा समेत नेपालले जित निकाल्न सकेन ।
नेपालका रोहित पौडेलले १ सय २६ रनको कीर्तिमानी शतकीय इनिङ खेले । रोहितको यो अन्तराष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने खेलाडी बने
उनले १ सय ७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्याएका थिए ।

नेपालका आरिफ शेखले ३४ रन, कुशल भुर्तेलले ३२ रन, सोमपाल कामीले अविजित १८, भिम शार्कीले १७, कमल सिंह ऐरीले १८ बनाउनु बाहेक अन्य खेलाडीले सम्झनालायक प्रदर्शन गर्न सकेनन् ।
पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो । नेपालविरुद्ध कुनै राष्ट्रले एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा बनाएको यो नै सर्वाधिक रन हो ।
पीएनजीका दुई खेलाडीले अर्धशतक पुरा गरे । चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । उनले १ सय ३ बलमा ६ चौका र १ छक्का प्रहर गर्दै सर्वाधिक इनिङ खेले ।
कप्तान असद भालाले ५५ बलमा ११ चौका प्रहार गर्दै ६० रनको अर्धशतकीय इनिङ खेले । यस्तै ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१ रनमा आउट भए । नोरमान भानुअले आक्रामक ४७ रन बनाए । जासन किलले १३ रनमा रहँदा सिमोन अटाइले २ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २/२ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले १/१ विकेट हात पारे ।
यस जितसँगै पीएनजीले दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो खेल शनिबार हुनेछ ।
दुई खेलको एकदिवसीय सिरिज र त्रिदेशीय टी-ट्वान्टी सिरिजका लागि पीएनजी नेपालको भ्रमणमा आएको हो ।
युएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेलेर पीएनजी नेपाल आएको हो ।
उक्त सिरिजमा नेपालले दुबै खेलमा पीएनजीलाई हराएको थियो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेट तथा दोस्रो खेलमा ७ विकेटले हराएको थियो ।
