काठमाडौं । एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७ को पिपल्स च्वाइस विधाको अवार्ड टेबलटेनिसकी एलिना महर्जनले जितेकी छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले काठमाडौंमा आयोजना गरेको अवार्ड कार्यक्रममा एलिनाले अवार्ड हात पारेकी हुन् ।
पिपल च्वाइस अवार्डका लागि एलिनासँगै एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी एन्जिला तुम्बापो सुब्बा, क्रिकेटका कुशल भुर्तेल र ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका थिए ।
भोटको आधारमा एलिनाले उनीहरुलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
पिपल्स च्वाइस विधाका विजेता खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक र समर्थकको भोटिङबाट चुनिएकी हुन् ।
पिपल्स च्वाइस विधाको लागि ईसेवाको मतभार ५० प्रतिशत रहेको छ ।
त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको छ ।
एलिना महर्जन नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी हुन् ।
एलिनाले दक्षिण एसियाली खेलकुदको १२ र १३ औं संस्करणमा लगातार दुई पटक महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल भएकी थिईन् ।
एलिना खेलाडीमात्र नभएर स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीमा प्रशिक्षण समेत दिइरहेकी छन् र टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय भएर लागेकी छन् ।
सामाजिक कार्यमा पनि क्रियाशील रहेकी एलिनाले १३ औं सागबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायतमा सहयोग गरेकी थिइन् ।
टेबलटेनिस परिवारमा हुर्केकी एलिनाको दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन र भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी हुन् ।