काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुने एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंकामा प्रशिक्षण गर्ने भएका छन् ।
नेपाली टोलीले श्रीलंकाका एक साता बढी तयारी गर्नेछन् । श्रीलंकामा नेपाली टोलीले श्रीलंकाका क्लबसँग कम्तिमा ५ अभ्यास खेल खेल्ने छन् ।
नेपाली टोली मार्च ३ मा श्रीलंका जाने छन् । नेपाली टोली श्रीलंकाबाटै मार्च १३ मा युएई प्रस्थान गर्ने छन् ।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले बन्द प्रशिक्षणमा २० खेलाडीलाई बोलाएका छन् ।
नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।
सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ ।
नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।
नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ । नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।
नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
लिग टु अन्तर्गत ७ टिम सहभागि रहेका छन् ।
ओमानले २३ खेलबाट ३० अंक जोडेको तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यता १२ खेल खेलेको स्कटल्यान्ड (१६ अंक), १६ खेल खेलेको अमेरिका (१४), १० खेल खेलेको युएई (१२) तथा ९ खेल खेलेको नामिविया (१०) दोस्रोदेखि पाँचौ स्थानसम्म रहेका छन् ।
नेपाल भने ८ खेलबाट ८ अंक जोड्दै छैठौं स्थानमा छ ।
पीएनजीले भने १२ मध्ये कुनैपनि खेलमा जित हात पारेको छैन ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी :
सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल,आरिफ शेख, आसिफ शेख, कमल सिंह ऐरी, विवेक यादव, सागर ढकाल, गुलशन झा, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, सोमपाल कामी, बिक्रम सोब,भिम शर्की, पवन सर्राफ, शुशन भारी, राजु रिजाल, अनिल कुमार शाह