काठमाडौं । राष्ट्रिय खेलकुद परिषद खेलकुद बिज्ञान प्रतिष्ठान नेपालको आयोजनामा १० दिने युथ खेलाडीको विशेष प्रशिक्षण कार्यक्रम सुरु भएको छ । विभिन्न ४ खेल सहभागी विशेष प्रशिक्षण शनिबारबाट काठमाडौंमा सुरु भएको हो ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा नतिजामूलक उपलब्धि हासिल गर्ने र युथ खेलाडीहरुको क्षमतामा अभिबृद्धि गर्ने उद्धेश्यले आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा केन्द्रिय राष्ट्रपति रनिङ्ग शिल्डमा स्वर्ण पदक प्राप्त गर्न सफल ब्यक्तिगत बिधा तेक्वान्दो, कराते, उसु र एथलेटिक्सका ९० खेलाडीहरुलाई बिशेष प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
कार्यक्रमको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले गरे । कार्यक्रमको उद्घाटन गर्दै सदस्य सचिव बिष्टले स्कुल देखि राष्ट्रिय प्रतियोगिता हुँदै दक्षिण एशियाली खेलकुद सम्म खेलाडीहरुले नतिजामूलक उपलब्धि हासिल गरुन भनि यस कार्यक्रमको सुरुवात गरिएको बताए ।
प्रशिक्षण कार्यक्रम कार्तिक १० देखि १९ गते सम्म तेक्वान्दो र उसु त्रिपुरेश्वर राखेप कभर्डहलमा, कराते सातदोवाटो कराते प्रशिक्षण केन्द्रमा तथा एथलेटिक्स मुलपानीस्थित क्रिकेट मैदानमा हुने कार्यक्रम रहेको छ ।