काठमाडौं । पाकिस्तानका कसिम अक्रमले युवा एकदिवसिय क्रिकेट (युथ ओडिआई) मा कीर्तिमान कायम गरेका छन् ।
वेस्ट इन्डिजमा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत अक्रमले ब्याटिङमा शतक तथा बलिङमा ५ विकेट लिदै कीर्तिमान कायम गरेका हुन् ।
युवा एकदिवसिय क्रिकेटको ४५ वर्षको इतिहासमा एउटै खेलमा शतक पुरा गर्ने तथा ५ विकेट लिने अक्रम पहिलो खेलाडी बनेका छन् ।
विश्वकप अन्तर्गत पाँचौ स्थानका लागि भएको खेलमा पाकिस्तानले श्रीलंकालाई २ सय ३८ रनले पराजित गर्ने क्रममा अक्रमको कीर्तिमान बनेको हो ।
पहिले ब्याटिङ गर्दै अक्रमले बनाएको ८० बलमा १ सय ३५ रनको मदतमा पाकिस्तानले तीन विकेट गुमाएर ३ सय ६५ रन जोडेको थियो ।
पाकिस्तानका हसिबुल्लाह खानले पनि १ सय ३६ रनको योगदान गरेका थिए ।
जवाफमा ब्याटिङ गरेको श्रीलंका १ सय २७ रनमै अलआउट भयो ।
जसमा अक्रमले ३७ रन खर्चिएर ५ विकेट हात पारे ।