काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोटको तयारीमा लागिरहेका छन् ।
तर कतिपयको ध्यान अहिले फेब्रुअरी १२ र १३ तारिखमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) को मेगा अक्सनबाट लेग स्पीनर लामिछानेलाई सहभागी १० मध्ये कुनै टिमले भित्र्याउछन वा भित्र्याउदैनन भन्ने विशेष चासो दिइरहेका छन् ।
विश्वका अधिकांश फ्रेन्चाइज क्रिकेटमा सहभागिता जनाइसकेका लामिछानेका लागि आईपीएल भने नौलो होइन् ।
यस अघि सन् २०१८ र २०१९ को आईपीएलमा लामिछानेले अहिले दिल्ली क्यापिटल्स (तत्कालिन दिल्ली डेयरडेभिल्स) का लागि खेलिसकेका छन् । सन् २०२० भने बेन्चमा सिमित रहे ।
सन् २०१८ मा आईपीएलमा डेब्यू गरेका लामिछानेले तीन खेल मात्र खेलेका थिए तर ५ विकेट हात पार्न सफल भए ।
सन् २०१९ मा उनले दिल्लीकै लागि ६ खेल खेलेर ८ विकेट लिएका थिए ।
खासमा सन् २०२० को आईपीएल संस्करण युएईमा भएका कारण पनि लामिछानेले खेल्ने अवसर प्राप्त गर्न सकेनन ।
त्यति हुँदाहुँदै पनि लामिछानेलाई त्यसपछिको संस्करणमा कुनै टिमले विश्वास गरेन ।
तर केही दिन अघि मात्रै अष्ट्रेलियामा सम्पन्न भएको बिग बास लिगमा लामिछानेले राम्रै प्रदर्शन गरेका छन् ।
होबार्ट हरिकेन्सका लागि लामिछानेले १४ खेल खेले र १४ विकेट नै हात पारे ।
लामिछानेले नेपाली टोलीका लागि सन् २०२१ मा ५ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेल खेलेका थिए जसमा उनले १३ विकेट हात पारे ।
यस पटकको आईपीएल भारतमै हुने सम्भावना बलियो रहेको छ तथा दुई टिम पनि थपिएका छन् ।
त्यस हिसाबले अघिल्ल वर्षका भन्दा बढी खेलाडीले मौका पाउने निश्चित छ ।
कतिपय टिमले स्पिनरहरुलाई अक्सन अघि नै रिटेन तथा क्लबमा भित्र्याइसकेका छन् ।
तर अझै पनि कैयौ टिमका लागि स्पिनरको खाचो भने पर्ने देखिन्छ ।
टिमको अवस्था
सहभागी १० टिममध्ये चेन्नई सुपर किंग्सले स्पिनर रविन्द्र जडेजा तथा मोइन अलीलाई टिममा रिटेन गरेको छ ।
त्यसैगरी, दिल्ली क्यापिटल्सले पार्टटाइम स्पिनरहरु अक्सर पटेल तथा पृथ्वी शाँलाई टिममा समावेश गरिसकेको छ ।
कोलकातामा लेग स्पिनर वरुण चक्रवर्ती तथा अफ स्पिनर सुनिल नारिने रहेका छन् ।
राजस्थान रोयल्सले पार्टटाइम लेग स्पिनर यशस्वी जैसवाललाई राखेको छ ।
सनराइज हैदराबादमा पार्टटाइम लेग स्पिनर अबदुल सामद छन् ।
लखनऊ सुपर जायन्ट्समा लेग स्पिनर रवी विस्नोइ छन् ।
अहमदाबादमा लेग स्पिनर रासिद खान नै रहेका छन् ।
सन्दीपको सम्भावना
मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरले कुनै पनि स्पिनरलाई रिटेन गरेका छैनन ।
यस हिसाबले मुम्बई, पञ्जाब र बैंगलोरले लामिछानेले टिममा राख्न सक्ने सम्भावना बलियो छ ।
यसका साथै राजस्थान र हैदराबादले पनि स्पिनरको कमी पुरा गर्न लामिछानेलाई भित्र्याउन सक्ने प्रवल सम्भावना रहेको छ ।