काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ ।
आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि क्रिकेट टिमले आइतबारबाट प्रशिक्षण सुरु गरेको हो ।
क्यानको क्रिकेट म्यानेजर विनोद दासले आजबाट टिमको बन्द प्रशिक्षण सुरु भएको बताए । तर, पहिलो दिन प्रशिक्षकसँग अन्तरक्रिया, फिटनेस लगायतको कार्यहरु मात्र भएको उनले बताए ।
'राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भईसकेको छ । मैदानमा नगएपनि होटलमा प्रशिक्षकसँग अन्तरक्रिया, फिटनेस, कार्ययोजना लगायतको कामहरु हुनेछ,' दासले भने ।
नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको थियो।
तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ गरेका छैनन् ।
क्यान स्रोतका अनुसार कारबाहीमा परेका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका छैनन् ।
क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो।
केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट)को विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए ।
क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो ।
कारबाहीमा परेका खेलाडीहरुले कारबाही फिर्ताको लागि माग गर्दै आईरहेका छन् । तर, क्यानले कारबाही फिर्ता नगर्ने बताईसकेको छ ।
चार खेलाडीसँगै करण केसी, कुशल भुर्तेल,विनोद भण्डारी, रोहित कुमार पौडेल, बिक्रम शोब, सुशन भारी, अविनाश बोहोरा, सन्दीप जोरा, कुशल मल्ल र नन्दन यादवले रिपोर्टिङ नगरेको बताईएको छ ।
क्रिकेट म्यानेजर दासले असन्तुष्ट खेलाडीहरुले रिपोर्टिङ नगरेको पुष्टि गरे । उनले कतिपय खेलाडी राजधानी बाहिर भएकाले आइतबार साँझसम्म आईपुग्ने बताए ।
'कतिपय खेलाडी आईपुगेका छैनन् । तर, क्याम्प सुरु भईसकेको छ । रिपोर्टिङ नगरेका खेलाडीसँग छलफल भईरहेको छ,' उनले भने, 'थप विषयमा क्यानको आधिकारिक धारणा आउछ ।'
बन्द प्रशिक्षणमा परेका नेपाली टिम :
सन्दीप लामिछाने (कप्तान)
ज्ञानेन्द्र मल्ल
दिपेन्द्र सिंह ऐरी
शरद भेषवाकर
करण केसी
सोमपाल कामी
आरिफ शेख
विनोद भण्डारी
कुशल मल्ल
कुशल भुर्तेल
आसिफ शेख
कमल सिंह ऐरी
शाहब आलम
सन्दीप जोरा
अविनाश बोहरा
सुशन भारी
पवन सर्राफ
बिक्रम सोब
भिम सार्की
रोहित कुमार पौडेल
प्रदिप ऐरी
गुलशन झा
नन्दन यादव
जितेन्द्र कुमार मुखिया
विवेक यदब
सौरभ खनाल
राजेश पुलामी
किशिर महतो
सागर ढकाल
हरिशंकर साह