काठमाडौं । दशैँ नेपालीहरुको महान चाड । नेपालीहरु धुमधामका साथ दशैँ मनाउने गर्छन् । अब दशैँ आउन केहि दिन मात्र बाँकी छ ।
दशैँ मुख्यत मिठा परिकारको लागि परिचित चाड हो । मिठा परिकारबिना दशैँ खल्लो बन्छ । त्यसैले दशैँमा मिठा मिठा परिकार बनाएर आफन्त र परिवारसंग रमाइलो गर्दै खाने गरिन्छ ।
दशैँमा सबैभन्दा बढी प्रयोग मासुको हुन्छ । मासुसंगै मिठाई, चिल्लोपिरो तरकारी, रोटीहरु बढी खाने गरिन्छ । त्यस्तै मदिरा देखी कोकाकोला, पेप्सी जस्ता पेय पदार्थ बढी खाने गरिन्छ ।
यस्तोमा खेलाडीहरुले भने आफुलाई स्वस्थ्य राख्न खानपानमा ध्यान दिनु पर्नेहुन्छ । किनकी एक साताको अव्यवस्थित खानपिनले खेलाडीको खेलमा असर गर्ने देखिन्छ ।
दशैँमा खेलाडीहरुले आफुलाई स्वस्थ्य राख्न के के गर्नु पर्छ ? नेपाली राष्ट्रिय फुटबल टिमका फिजियो भएर काम गरिसकेका फिजियो सुरज भुसालले दशैँमा फिट रहन खेलाडीहरुलाई स्वस्थ्य टिप्स दिएका छन् ।
फिट रहन दशैँमा खेलाडीले के के गर्नु पर्छ ? फिजियो भुसालकै शब्दमा :
दशैँ आउन केहि दिन मात्र बाँकी छ । यस्तोमा सबैले खानपानमा ध्यान दिनु आवश्यक छ । सबैभन्दा धेरै खेलाडीहरुले यस बिषयमा ध्यान पुर्याउन आवश्यक रहन्छ ।
सामान्य व्यक्ति आफ्नो खानपिनले मात्र स्वस्थ रहन सक्छ तर खेलाडीलाई खानपिनले मात्र स्वस्थ राख्न सक्दैन । किनभने खेलाडीका शरीरले जुन प्रकारको खानेकुरा माग गर्छ त्यो अनुसार खेलाडीले दिन आवश्यक हुन्छ । यसका साथै खेलाडीका लागि खान अनुसारको व्यायाम पनि आवश्यक छ ।
खेलाडीको खानपिन फरक हुन्छ । जस्तै, आफ्नो डाइटलाई नियन्त्रण गर्नुका साथै प्रोटिन र भिटामिन 'सि' बारेमा ध्यान दिन आवश्यक छ ।
पानीको कुरा गर्दा सामान्य व्यक्तिले दुई/तीन लिटर पिउने गर्छ भने खेलाडीले त्यो भन्दा केहि गुणा बढी पानी पिउनु पर्छ । खेल अघि र खेल पछि दुवै चरणमा खेलाडीले खाने कुरामा ध्यान पुर्राउनु जरुरी छ ।
बिशेष गरेर चाडपर्वको समय खेलाडीले खाने कुरामै ध्यान दिनु पर्ने हुन्छ । अझ नेपालीहरुको महान चाड दशैँको समय बिशेष ध्यान दिनु पर्छ । दशैँको बेला धेरै चिल्लोपिरो खाने, माछा मासु धेरै खाने, दहि दुधहरु धेरै खाने गरिन्छ । यस कुरामा खेलाडीले बिशेष ध्यान पुर्याउनु पर्छ ।
दशैँमा विदा हुने हुँदा यस समय खेलाडीले खाने कुरामा ध्यान दिन नसकेमा उनीहरुको ब्लड प्रेसरमा असर पर्न जान्छ । कोल्ड स्टोरमा पनि असर पर्न सक्छ । यस्तै सुगर लेभलको कुरामा पनि समस्या रहन सक्छ ।
बिशेषत चाडपर्वको बेलामा खेलाडीहरुले धेरै चिल्लो पिरो खानु हुँदैन । मदिरा प्रयोग गर्ने कुरामा पनि सतर्कता अपनाउनु पर्छ । खाने कुरामा ध्यान दिएन भने खेलाडीको खेल प्रदर्शनमा असर पर्न सक्छ । आफ्नो स्वास्थ्यमा त झनै असर पर्ने देखिएकै छ । सबै प्रकारका खेलाडीहरु समान रुपमा स्वस्थ रहनु पर्छ ।
नेपाली समाजमा रातो मासु बढि मात्रामा चल्छ । खेलाडीले त्यसैको प्रयोगमा बढी ध्यान दिन आवश्यक छ । किनकि दशैँको बेलामा खेलाडीले व्यायाम गर्ने कुरा रहेन । तर, खेलाडीले दैनिक ४५ मिनेट दौडन भने सक्छ । जसले गर्दा खेलाडीको स्वास्थ्यमा मद्दत पुग्छ ।
दशैँको समय पनि खेलाडीले स्वस्थ रहन कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल लगायतका कुरामा ध्यान दिन आवश्यक छ ।
यस्तै हरेक खेलाडीका लागि आवश्यक अनुसारको व्यायाम आवश्यक पर्दछ । खेलाडीले जुन तरिकाको खेल खेल्ने हो त्यहिँ अनुसारको व्यायाम र खानेकुराको आवश्यक पर्छ । एउटा फुटबल खेलाडी र टेनिस खेलाडीमा फरक त पर्छ तर स्वस्थ रहने प्रिन्सिपल एउटै हो । खेलाडीले सिजनमा मात्र हैन प्रि–सिजन र अफ-सिजनमा पनि खानपिनमा ध्यान दिनुपर्छ ।
एक खेलाडीले सिजन र अफ सिजनमा स्वस्थ्य रहन अन्य खेल खेल्दा समेत हुन्छ । जसले गर्दा उ स्वस्थ्य रहन सकोस् । जस्तै, क्रिकेट खेलाडीले आफु स्वस्थ रहन क्रिकेट नै खेल्नु पर्छ भन्ने हुदैन । फुटबल खेलाडीले स्वस्थ रहन फुटबल नै खेल्नु पर्छ भन्ने हुँदैन ।