काठमाडौं । काठमाडौंमा ‘रन फर प्रोटिन’ हाफ म्याराथन हुने भएको छ ।
नेपाल भेटेरिनरी एशोसिएसनले पुस ३ गते शनिबार हाफ म्याराथनसहित अन्य दौड आयोजना गर्न लागेको हो ।
हाफ म्याराथनसहित पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थी अन्तर्गत पुरुषतर्फ ५ किमि तथा महिलातर्फ ३ किमि दौड हुनेछ ।
साथै फरक क्षमता भएका व्यक्तिहरुको लागि ह्वीलचेयर दौड समावेश गरिएको छ ।
दौड दशरथ रंगशालाबाट सुरु भई सोही स्थानमा समापन हुने आइतबार आयोजित पत्रकार सम्मेलनका क्रममा आयोजकले जानकारी दिए ।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उदेश्यले म्याराथन आयोजना गरिन लागिएको आयोजकले जनाएको छ ।
महिला तथा पुरुषतर्फको हाफ म्याराथन विजेताले समान रु १ लाख प्राप्त गर्नेछन् । त्यसैगरी दोस्रो तथा तेस्रो हुनेले क्रमश ७५ हजार र ५० हजार हात पार्नेछन् ।
चौथो र पाँचौ हुनेले ४० हजार र ३० हजार प्राप्त गर्नेछन् ।
१० किमितर्फ शीर्षदेखि पाँचौस्थानसम्म हातपार्नेले क्रमश ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार जित्नेछन् ।
५ किमि तथा ह्वीलचेयरतर्फका विजेताहरुले क्रमश ३० हजार, २०, हजार, १५ हजार, १० हजार र ५ हजार नगद पाउनेछन् ।
३ किमितर्फका शीर्ष पाँचसम्म आउनेले क्रमश २० हजार, १५ हजार, १० हजार ५ हजार र २ हजार ५ सय प्राप्त गर्नेछन् ।
दौडको जम्मा पुरस्कार राशी १० लाख ५० हजार रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताका लागि दर्ता शुल्क २ सय रुपैया रहेको छ ।
नेपाल दाना उद्योग संघ, नेपाल पशुपन्धी औषधी व्यवसायी संघ, ह्याचरी उद्योग संघ, नेपाल अण्ड उत्पादक सघ लगायतले प्रतियोगितामा सहयोग गरेका छन् ।