काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिगको सम्पूर्ण तयारी सकिएको जनाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल अपरान्ह ४:४५ बजे सुरु हुनेछ ।
एन्फाले सुरुआती दुई चरणको खेल तालिका सार्वजनिक गरिसकेको छ । दुई चरणका सबै खेल रंगशालामा हुनेछ ।
कुल ९१ खेल हुने लिगमा 'ए' डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै 'बी' डिभिजनमा झर्ने छन् ।
टिकट मूल्य :
एन्फाले दर्शकका लागि सस्तो टिकट दर राखेको छ । सामान्य प्यारापिटको टिकट मूल्य १ सय र भीआइपीतर्फ ५ सय राखिएको छ ।
लाईभ :
'ए' लिगका खेलहरु कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ । तर, दशरथ रंगशालाका खेलहरु मात्र प्रत्यक्ष प्रशारण हुनेछ ।
विजेतालाई कति ?
यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।
हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५/२५ हजार पाउने छन् ।
सहभागी क्लब :
मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब,थ्री स्टार क्लब,त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब, च्यासल युथ क्लब, न्युरोट टिम (एनआरटि), फ्रेन्ड्स क्लब, ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा क्लब