काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन २०७८ आज शुक्रबारदेखि सुरु हुँदैछ र उद्घाटन खेल फ्लड लाइट्समा दशरथ रंगशालामा हुनेछ ।
यो ललितपुर डर्बी रहनेछ र यसमा भिड्ने छन्, फ्रेन्ड्स क्लब र सातदोबाटो युथ क्लब । खेल साँझ चार बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
नेपाली लिग इतिहासमा कुनै पनि खेल फ्लड लाइट्समा हुन लागेको यो पहिलो पटक हो।
सातदोबाटोले यो खेलसँगै नेपाली फुटबलको माथिल्लो डिभिजनमा डेब्यु गर्नेछ । त्यसैले यो फ्रेन्ड्स र सातदोबाटोबीचको पहिलो खेल हुनेछ ।
सातदोबाटोको आगमनले ए डिभिजनमा ललितपुरका टिमका बाहुल्य भएको छ । यसपल्टको लिगमा ललितपुरका छ टिम छन्, फ्रेन्ड्स र सातदोबोटोसँगै थ्री स्टार, जावलाखेल, बीबीसी र च्यासल ।
काठमाडौंका पाँच क्लब मनाङ मर्स्याङ्दी, संकटा, एनआरटी, मछिन्द्र र हिमालयन शेर्पाले लिगमा चुनौती पेस गर्नेछ । अन्य तीन दिन पुलिस, आर्मी र एपीएफ विभागीय टिम हुन् ।
सातदोबाटो सहिद स्मारक लिग बी डिभिजनको विजेताका रूपमा माथि उक्लेको हो । फ्रेन्ड्सले २०३२ देखि माथिल्लो डिभिजन खेल्न थालेको हो ।
फ्रेन्ड्स शुक्रबारको खेलमा ओर्लिदा उसको सामना लगातार तीन हारको क्रम रोक्ने चुनौती हुनेछ ।
पछिल्लो लिगका आफ्ना अन्तिम तीन खेलमा फ्रेन्ड्स लगातार पराजित रहेको थियो, जावलाखेल, एपीएफ र पुलिसविरुद्ध ।
त्यस अगाडिका दुई खेलमा भने फ्रेन्ड्स विजयी रहेको थियो, एनआरटी र च्यासलविरुद्ध । फ्रेन्ड्सले ए डिभिजनमा २ सय ७९ मिनेटयता कुनै गोल गर्न सकेको छैन् ।