काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै अष्ट्रेलिया सेमिफाइनल नजिक पुगेको छ ।
सुपर १२ को समूह १ अन्तर्गत वेस्ट इन्डिजले दिएको १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर २ बलमा केवल दुई विकेट गुमाएर पुरा गर्यो ।
जितसँगै अष्ट्रेलियाले पाँच मध्ये चार खेलमा जित हात पार्दै ८ अंक जोडेको छ ।
इंग्ल्यान्डको चार खेलमा ८ अंक छ र इंग्ल्यान्डले आजै राती दक्षिण अफ्रिकाविरुद्ध खेल्नेछ । तर नेट रनरेटमा भने इंग्ल्यान्ड अष्ट्रेलिया भन्दा माथि छ ।
इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच हुने खेलले सेमिफाइनलमा प्रवेश गर्ने टोलीको टुंगो लगाउनेछ ।
अष्ट्रेलियालाई चौथो जित दिलाउन डेभिड वार्नरले सर्वाधिक ८९ रन जोडे । वार्नरले ५६ बलको सामना गर्दा ९ चौका र ४ छक्का प्रहार गरे ।
मिचेल मार्सले ५३ रनको योगदान गरे ।
वेस्ट इन्डिजका अकिल होसेन र क्रिस गेलले एक–एक विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ५७ रन जोड्यो ।
वेस्ट इन्डिजका लागि कप्तान काइरोन पोलार्डले सर्वाधिक ४४ रनको योगदान गरे ।
इभिन लेविसले २९ तथा सिमरोन हिटमेयरले २७ रनको जोडे ।
अष्ट्रेलियाका जोश ह्याजलउडले सर्वाधिक चार विकेट हात पारे भने मिचेल स्टार्क, प्याट कमिङस तथा एडम जाम्पाले समान एक–एक विकेट लिए ।