काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत आज शनिबार दुई महत्वपूर्ण खेल हुनेछ ।
समूह १ अन्तर्गत दिउँसो ३ः४५ बजे हुने पहिलो खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजको सामना गर्नेछ भने दोस्रो खेल इंग्ल्यान्ड र दक्षिण अफ्रिकाबीच राती ७ः४५ बजेबाट सुरु हुनेछ ।
सेमिफाइनल प्रवेशका लागि आजको खेलमा अष्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध तथा दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध जित निकाल्नुपर्ने हुन्छ ।
इंग्ल्यान्डले लगातार चार खेल जित्दै यस समूहबाट सेमिफाइनलमा स्थानमा पक्का गरिसकेको अवस्थामा अष्ट्रेलिया र दक्षिण अफ्रिका बाँकी एक स्थानका लागि संघर्षरत छन् ।
चार मध्ये समान तीन–तीन खेलमा जित हात पारेको अष्ट्रेलिया र दक्षिण अफ्रिका नेट रनरेटका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
त्यसैले अष्ट्रेलिया र दक्षिण अफ्रिका दुबैलाई आ–आफ्नो खेलमा जित निकाल्दै सकारात्मक रनरेटको अपेक्षा रहनेछ ।
यदि यी दुई मध्ये एक टोलीले मात्र जित निकाले विजेता टोली अन्तिम चारमा प्रवेश गर्नेछ भने दुबै टोलीले जित हात पारेको खण्ड्मा रनरेटकै भर पर्नुपर्नेछ ।
यस समूहबाट पाँच मध्ये दुई खेलमा जित निकालेको श्रीलंका, चारमध्ये केवल एक खेल जितको वेस्ट इन्डिज र पाँचवटै खेलमा पराजय भोगेको बंगालदेश प्रतियोगिताबाट बाहिरिसकेको छ ।