एजेन्सी । पाकिस्तान आईसीसी विश्वकप टी–ट्वान्टी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार राति नामिबियालाई ४५ रनले हराउँदै पाकिस्तान विश्वकपको सेमिफाइनल पुग्ने दोस्रो टोली बनेको हो ।
पाकिस्तानले समूह चरणको खेलमा लगातार चार खेलमा जित निकाल्दै आफ्नो समूहबाट सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।
१ सय ९० रनको लक्ष्य पछ्याएको नामिबियाले ५ विकेट गुमाएर १ सय ४४ रन मात्र बनाउन सक्यो ।
नामिबियाका डेभिड विसले नटआउट ४३ रन बनाएको इनिङ्समा क्रेग विलियम्सले ४० रन बनाए । ओपनर स्टेफन बार्डले २९, मिकेल लिनगेनले ४, कप्तान जेरार्ड इरास्मसले १५, जेजे स्मिथले २ तथा जान इटोन ७ रनमा अविजित रहे ।
पाकिस्तानका हसन अली, इमाद वासिम, हरिस रर्फ र सादब खानले समान एक एक विकेट हात पारे ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ८९ रनको विशाल योगफल तयार पारेको थियाे ।
पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ७९ रनको योगदान गरे ।
कप्तान बाबर आजमले ७० रन जोड्दा मोहम्मद हफीजले ३२ रनमा आउट भए ।
नामिवियाका डेभिड वाइजी र जान फ्रायलिङकले एक–एक विकेट हात पारेका थिए ।
समूह बीमा पाकिस्तानले ४ खेलबाट ८ अंक जोड्यो र एक खेल कम खेलेको अफगानिस्तानसँग ४ अंकको अग्रता लिएको छ ।
नामिबियाले प्रतियोगितामा एक जित सहित २ अंक जोडेको छ । न्युजिल्याण्डले दुई खेलबाट मात्र २ अंक जोडेको छ । सोही समुहमा भारत र स्कटल्याण्डले दुई खेल खेलेका छन् तर अंक विहीन छन् ।