काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ ।
सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा भएको खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर केवल ९८ रन जोड्न सक्यो ।
यससँगै अफगानिस्तानले तीन खेलमा दुई जित हात पारेको छ ।
यस अघि अफगानिस्तानले स्कटल्यान्डलाई पराजित गरेपनि पाकिस्तानसँग हार्न पुगेको थियो ।
यता नामिबियाले आफ्नो पहिलो खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो ।
नामिबियाका लागि डेभिड वाइजेले सर्वाधिक २६ रनको योगदान गरे ।
नामिबियालाई सस्तैमा समेट्न अफगानिस्तानका हमिद हसन र नविन–उल–हकले समान ३/३ विकेट हात पारे ।
गुलबदिन नइवले दुई विकेट लिए तथा राशिद खानले एक विकेट चट्काए ।
यस अघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन जोडेको थियो ।
मोहमद सहजादले ४५, हजरातुल्लाह जजाईले ३३, कप्तान मोहमद नावीले ३२ र अस्घर अफगानले ३१ रनको योगदान गरे ।
नामिबियाका रुबेन र जान निकोलले २/२ विकेट लिए ।