काठमाडौं । इंग्ल्यान्डका पूर्व कप्तान माइकल भानले जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डलाई केवल पाकिस्तानले हराउन सक्ने बताएका छन् ।
अहिलेको अवस्थामा केवल पाकिस्तानले मात्र इंग्ल्यान्डलाई रोक्न सक्ने भानले भविष्यवाणी गरेका हुन् ।
दुबै टोलीले सुपर १२ अन्तर्गत आफ्ना तीनवटै खेलमा जित हात पारेका छन् ।
पाकिस्तानले भारत, न्यूजिल्यान्ड र अफगानिस्तानलाई पराजित गरेको छ भने इंग्ल्यान्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियामाथि जित निकालेको छ ।
‘अहिले यो बाँकीलाई सन्देश हो... इंग्ल्यान्ड सबैभन्दा राम्रो र सबैभन्दा खतरनाक टोली हो । ..कसले उनीहरुलाई रोक्ने छ ? अहिलेको अवस्थामा केवल पाकिस्तान सो अवस्थामा छ,’ भानले ट्विट् गरे ।
इंग्ल्यान्डका पूर्व ब्याट्सम्यान भानले इंग्ल्यान्डका लागि ८२ टेस्ट र ८६ एकदिवसीय खेलेका छन् । उनले जम्मा दुई टी–ट्वान्टी खेल खेलेका छन् ।
इंग्ल्यान्डले सोमबार श्रीलंकाको सामना गर्नेछ भने पाकिस्तानले नामिवियाविरुद्ध मंगलबार खेल्नेछ ।