काठमाडौं । अफगानिस्तानका पूर्व कप्तान असघर अफगानले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।
युएई र ओमानमा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गतको नामिवियाविरुद्धको खेल अन्तिम हुने अफगानले जनाए ।
अफगानिस्तानले आज आईतबार नामिवियाविरुद्ध खेल्दैछ ।
नामिवियाविरुद्धको खेलका लागि छनोट भए उनी ७५ औं टी–ट्वान्टी खेल्नेछन् ।
३३ वर्षीय अफगानले १ सय १४ एकदिवसीय र ६ टेस्ट क्रिकेट खेलेका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डले उनको सन्यासलाई स्वीकृत गरेको छ ।
स्कटल्यान्डमाथि अफगानिस्तानले जित निकाल्दा उनी टोलीमा थिएनन तर पाकिस्तानविरुद्ध भने उनले खेलेका थिए ।
अफगानले सन् २००९ मा स्कटल्यान्डविरुद्ध एकदिवसीय खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।
उनी सन् २०१८ मा अफगानिस्तानले आफ्नो पहिलो टेस्ट भारतविरुद्ध खेल्दा कप्तान थिए ।
अफगान कप्तानको रुपमा सबैभन्दा बढी टी–ट्वान्टी क्रिकेट खेल जित्ने खेलाडी हुन् । उनले ४२ खेल जितेका छन् ।
यता भारतका एमएस धोनीले कप्तानको रुपमा ४१ खेल जितेका थिए ।