काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ ।
दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो ।
श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाको जितमा डेभिड वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए ।
स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए ।
श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।
श्रीलंकाका लागि कुशल परेरा र चारिथ असलंकाले समान ३५ रन बनाए ।
यस्तै भानुका राजपाक्षे ३३ रनमा अविजित रहदा कप्तान डसुन शनकाले १२ रन बनाए ।
अष्ट्रेलियाका मिचेल मार्श,पाट कमिन्स र एडम जाम्पाले २/२ विकेट लिए ।
यस जितसँगै अष्ट्रेलियाले २ खेलमा ४ अंक जोडेको छ ।
समूह १ मा रहेको अष्ट्रेलिया दोस्रो स्थानमा उक्लिएको छ ।
पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो ।
सुपर १२ मा श्रीलंकाको यो पहिलो हार हो ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो ।
श्रीलंका २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।