काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज बिहीबार एक खेल हुँदैछ ।
दुबईमा हुने एक मात्र खेलमा अष्ट्रेलिया र श्रीलंका प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलिया र श्रीलंकाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा आज दुबै टिम दोस्रो जितको खोजीमा हुने छन् । त्यसैले दुई टिमबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ।
पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रीकालाई ५ विकेटले हराएको थियो । अष्ट्रेलिया त्यस जितलाई निरन्तरता दिन चाहन्छ ।
श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले नै हराएको थियो । श्रीलंका पनि आफ्नो जितलाई निरन्तरता दिने योजनामा हुनेछ ।
सुपर १२ को समूह १ को अष्ट्रेलिया २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । श्रीलंका २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ । श्रीलंकाले मात्र एक खेलमा अष्ट्रेलियालाई हराउन सकेको छ ।