देबराज सुवेदी
मेलम्ची । पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिले कोरोनाको कारण स्थगित हुन पुगेको चौंथो विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन कात्तिक २७ गते आयोजना गर्ने भएको छ ।
बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँच पोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामामा सञ्चालन हुने सो प्रतियोगिताले यस क्षेत्रको पर्यटन एवं खेलकुद क्षेत्रको विकास हुने लक्ष्य राखिएको समितिका अध्यक्ष टासी शेर्पाले बताए ।
नेपालका प्रमुख १०० वटा नयाँ पर्यटकीय गन्तव्यहरू मध्येमा पर्न सफल विश्वको नवौँ अग्लो स्थानमा रहेको ताल पाँचपोखरीदेखि रैथाने महादेव मन्दिरसम्म म्याराथन हुनेछ ।
प्रतियोगितामा सहभागी हुन चाहनेले सिन्धुपाल्चोक जिल्लाका लागि २५ सय रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।
जिल्ला बाहिरका नेपालीहरूका लागि ३५ सय र विदेशी खेलाडीका लागि ८० डलर दर्ता शुल्क लाग्ने जनाइएको छ ।
प्रतियोगितामा सहभागी हुन चाहने व्यक्तिले कात्तिक १९ गतेसम्म दर्ता गरिसक्नु पर्नेछ ।