काठमाडौं । गत हप्ताको सुखद खबर, भलिबलको पनि फ्रेन्चाइज हुने पक्का भयो ।
निर्वाण चौधरी नेतृत्वको नेपाल स्पोर्ट्स इभेन्ट एण्ड म्यानेजमेन्ट कम्पनीले एनएसएल भलिबल आयोजनाको सम्झौता गर्यो ।
फ्रेन्चाइज आयोजनाका लागि धेरै व्यक्ति र संस्था इच्छुक थिए । राखेप र भलिबल संघको जोड चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण नेतृत्वको एनएसएलमै रह्यो ।
नहोस पनि किन ?
संघलाई तत्कालै लाभ दिन सक्ने चौधरीको टिमभन्दा अरु थिएन ।
भलिबल संघको वार्षिक कार्यक्रम अर्को महिला एनभीए कप हुदैछ । प्रायोजक नपाएर प्राय भलिबल संघ ‘बितडा’ पर्ने गरेको थियो । अब फ्रेन्चाइजको अनुमती पाएसंगै चौधरीले सो प्रतियोगितालाई राम्रै प्रायोजक दिनेछ । सम्झौतामै त्यो उल्लेख छ ।
जसरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले विद्यालय स्तरीय फुटबल प्रतियोगिताका लागि ‘क्विक्स’को प्रायोजक पाएको थियो । ‘क्विक्स’को प्रायोजक भेटेपछि नै एन्फा अध्यक्ष शेर्पाले निर्वाण चौधरीलाई फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग फुटबलको अनुमती दिएका थिए ।
अर्को कुरा, फ्रेन्चाइजको नाफाको ३० प्रतिशत भलिबल संघले प्राप्त गर्नेछ । आफै राष्ट्रिय प्रतियोगिता गर्न धौ धौ पर्ने संघलाई फ्रेन्चाइजको फाइदाबाट आउने ३० प्रतिशत रकम कम हैन ।
यो त सम्झौताका कुरा भए । यसको कार्यान्वयन कसरी अघि बढ्छ, त्यो हेर्न बाँकी छ ।
मुख्य कुरा अब भलिबलका प्राविधिक र खेलाडीले वार्षिक केही लाख कमाउने भए, त्यो फ्रेन्चाइजको सुखद पक्ष हो ।
त्यही देखेर भलिबल संघका पदाधिकारीले चौधरीलाई १० वर्षकालागि भलिबलको फ्रेन्चाइज आयोजना गर्न दिने सहमती गरेका हुन् ।
तर यसका केही कानुनी प्रश्नहरु छन् ।
भलिबल संघको वर्तमान कार्यसमितिको म्याद सकिएको करिब डेढ वर्ष भयो । राखेपले निर्वाचन नगराएर तदर्थवादमा संघ सञ्चालन गरिरहेका छ ।
त्यसैले संघ, यसको पदाधिकारी, यसका निर्णयको वैधानिकतामाथिको प्रश्न यथावत छ ।
म्याद सकिएको संघको कार्यसमितिले १० वर्षका लागि कुनै नीजि कम्पनीलाई फ्रेन्चाइज आयोजनाको अनुमती दिने निर्णयको वैधानिकताको परिक्षण कुनै समय पक्कै हुनेछ ।
तर फ्रेन्चाइजले नेपालको ‘अन्डररेटेड’ भलिबललाई उजागर गर्नेमा शंका छैन ।
भलिबल राष्ट्रिय खेल मात्र नभएर नेपालको लोकप्रिय खेल हो । हिमाल, पहाड, तराई, मधेशमा खेलिने एकमात्र खेल हो । नेपाली समाज, परिवेश र पहिचानको खेल हो । त्यसैले यो राष्ट्रिय खेल बन्यो ।
तर दुर्भाग्य भलिबलले कहिल्यै गतिलो नेतृत्व पाएन । जति पनि आए भलिबललाई अघि लैजाने प्रष्ट दृष्टिकोण उनीहरुसंग थिएन । केन्द्रमै वर्षका १–२ प्रतियोगिता गरेर कार्यकाल बिताए ।
वर्तमान अध्यक्ष मनोरञ्जनरमण शर्माले त केही गरे । तर त्यसअघिका सबै नेतृत्वले भलिबल संघलाई राजनीतिक भर्याङ्ग बाहेक केही बनाएनन् । पदीय लाभ र व्यक्ति स्वार्थमा संघलाई प्रयोग गरे ।
भलिबललाई योजना, कार्यक्रम र नेतृत्व दिन सकेनन् ।
जति आए, आफ्नो पुरा कार्यकाल कामै गरेनन् । दानबहादुर तामाङ आएपछि सुतेको भलिबल उठेको मानिन्छ । त्यसपछि मनोरञ्जनरमणले केही रंग भर्ने काम गरे । तर यसलाई दौडाउन सकेनन् ।
भिजन र मिसन दिन सकेनन् ।
उनी अहिले स्वास्थ्य लाभ गरिरहेका छन् । उनी केही समय अघि कार्यवहाक छाडेर अमेरिका गएका थिए । त्यसअघि दानबहादुर तामाङ समेत अध्यक्ष निर्वाचित भएर केही समय निष्कृय बसेका थिए । कसैले भलिबललाई दौडाउन चाहेनन्÷सकेनन् ।
भलिबलका आफ्नै समस्या छन् । फुटबल र क्रिकेट जस्तो संघ व्यवस्थित छैन । आफ्नै कार्यालय छैन । कर्मचारी छैनन् । राष्ट्रिय भलिबलको आफ्नै खेल्ने कभर्डहल छैन ।
पोहर साल झण्डै करोड रुपैयाँ भलिबलको डीपीआर गर्नका लागि सरकारले रकम दिएको थियो । तर जग्गा विवादले डीपीआरनै बनेन । रकम फ्रिज भो ।
संघ व्यवस्थित छैन । व्यवसायीक छैन । संघका पदाधिकारीमा व्यवसायीकताको कमी छ ।
सुचना प्रभाव र भलिबलको प्रचार प्रसार गर्ने रणनीतिक योजना छैन । पत्रकारले समाचार लेखेको अवस्थामा सुचना कहाँबाट पाइस् भनेर गुनासो गर्ने पदाधिकारी संघभित्र छन् ।
भलिबलका अनेक दुख छन् । तर नेतृत्व प्राय गैर जिम्मेवार जस्तो देखिन्छ ।
घरेलु भलिबललाई कसरी सञ्चालन गर्ने ? कहाँ पुर्याउने ? भन्ने तत्कालिन, मध्यकालिन र दिर्घकालिन रणनीति योजना छैन । योजना बिनाको कार्यक्रम र क्रियाकलापको के अर्थ ?
लक्ष्य बिना हिडेर पुग्ने ठाउँनै कहाँनै होला र ?
खेलकुद व्यवसायीक बन्न नसकेरपनि भलिबलले दुख पाएको हुनुपर्छ ।
फुटबल, क्रिकेट जस्तो विदेशी अनुदान नभएर पनि यसको विकास र समृद्धिमा असर परेको हुनुपर्छ । तर तमाम समस्याको समाधान गर्न सक्नेनै नेतृत्वको जिम्मेवारी हो ।
नत्र किन पद ओगट्नु ?
किन जिम्मेवारी लिनु ?
यहीँ सन्दर्भमा भलिबलको फ्रेन्चाइजको सुखद समाचार आएको छ ।
कार्यवहाकको जिम्मेवारी सहित उपाध्यक्ष निरोज मास्के, महासचिव जितेन्द्रबहादुर चन्द लगायतका पदाधिकारीले यसलाई सार्थक बनाउन मेहनत गरेका छन् ।
भलिबल अब रोकिएर बस्ने छैन ।
एनएसएलको ‘स्लोगन’नै छ, ‘अब खेल्न नेपाल’ ।
फ्रेन्चाइजको आगमनसंगै के दौडिएला त भलिबल ?