काठमाडौं । 'सी' डिभिजन छनोट काठमाडौंमा चलिरहेको छ । समूह चरणको अन्तिम खेलहरु चलिरहदा 'म्याच फिक्सिङ' को घटना सार्वजनिक भएका छन् । धादिङबाट 'सी' छनोट खेल्ने शुभारम्भ युवा समाजले मिलेमतोको प्रस्तावनै आएको दाबी गर्दै अनुसन्धानका लागि एन्फामा निवेदननै दिएको छ ।
फिक्सिङको आरोप र आशंका गर्ने धेरै क्लब छन् । सहभागी क्लबले आफुलाई फिक्सिङको प्रस्ताव आएको दाबी गर्दै एन्फामा निवेदन दिएको यो पहिलो घटना भने हैन । तर म्याच फिक्सिङको विषयमा यसअघिको अनुसन्धान र कारबाही निकै फितलो देखिदै आएको छ ।
राष्ट्रिय फुटबल टिमनै फिक्सिङमा आबद्ध भएपछि केही वर्ष अघि नेपाली फुटबल अन्तराष्ट्रिय रुपमै बदनाम भयो । फिक्सिङ सम्बन्धि कानुनको अभावमा तत्कालिन कप्तान सागर थापा सहित सन्दीप राई लगायतका खेलाडीले घटनाबाट उन्मुक्ति पाए ।
सिनियर र उमेर समूहकै राष्ट्रिय टिम फिक्सिङमा संलग्न भैरहदा घरेलु खेलकुदको सर्वोच्च निकाय र फुटबलको सर्वोच्च निकाय बेखबर र निष्प्रभावी रहदै आएका छन् । फिक्सिङको समस्या राष्ट्रिय टिममात्र हैन, घरेलु फुटबलमा अझै चर्को छ । घरेलु लिगको दौरान क्लब र खेलाडी फिक्सिङमा संलग्न हुने ‘ओपन सेक्रेट’ जस्तै छ ।
गम्भिरतापूर्वक त्यसको अनुगमन र छानविन नहुँदा संलग्न व्यक्ति खुलेयाम हिड्ने गरेका छन्।
'सी' छनोट नेपालको शीर्ष डिभिजन फुटबलको ‘गेट वे’ हो । छनोटमै फिक्सिङ हुँदा राम्रा क्लब र इमान्दार रुपमा फुटबलमा लगानी गरेका व्यक्ति र संस्थालाई सबैभन्दा बढी नोक्सान पर्छ । यसले सबैभन्दा ठुलो मूल्य नेपाली फुटबलले चुकाउनुपर्छ, चुकाउदै पनि आएको छ ।
म्याच फिक्सिङ खेलकुदमा जघन्य अपराध मानिन्छ । यस्ता घटनामा संलग्न पदाधिकारी र संस्थामाथि एन्फाले निर्मम छानबिन र कारबाही आवश्यक छ । कमजोर संरचना र प्रणालीमा टिकेको नेपाली फुटबल म्याच फिक्सिङले खोक्रो बनाएको छ ।
एउटा ‘इन्ट्रिगिटी अफिसर’ राखेर एन्फाको जिम्मेवारी पूरा हुँदैन । 'सी' छनोटमा सतहमा देखिएका म्याच फिक्सिङका आरोपको निर्मम छानबिन र कारबाही हुन आवश्यक छ । यसमा गम्भीर नबन्ने हो भने नेपाली फुटबलले अझ ठुलो मूल्य चुकाउनुपर्नेछ ।
एन्फा गम्भीर नबन्ने हो भने फुटबल जोगाउन राखेप, खेलकुद मन्त्रालय र नेपाल सरकारले गम्भीर हस्तक्षेप गर्न आवश्यक छ ।