काठमाडौं । घरेलु टिम श्रीलंकाले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकालाई पराजित गरेको छ ।
कोलम्बोमा बिहीबार राति श्रीलंकाले दक्षिण अफ्रीकालाई १४ रनले हराएको हो ।
यस जितसँगै तीन खेलको सिरिजमा श्रीलंकाले १-० को अग्रता बनाएको छ ।
दुई टिमबीचको दोस्रो खेल शनिबार हुनेछ ।
श्रीलंकाले दिएको ३ सय १ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउन सक्यो ।
दक्षिण अफ्रीकाका लागि एडिन मार्क्रमले ९६ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै रस्सी भान डेर डुसेनले ५९ रन जोड्दा हेन्रिच क्लासेनले ३६ रन बनाए । कप्तान टेम्बा बाभुमा ३८ रन जोड्दा रिटायर्ड हर्ट भए ।
श्रीलंकाका अकिला धनन्जयले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ९ विकेट गुमाएर ३०० रन जोडेको थियो ।
श्रीलंकाका अभिस्का फर्नान्डोले १ सय १८ रनको शतकीय इनिङ्स खेले ।
चारिथ असालंकाले ७२ रन जोड्दा धनन्जय डी सिल्भाले ४४ रन बनाए ।
दक्षिण अफ्रीकाका कागिसो राबडा र केशव महाराजले २/२ विकेट लिए ।