काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतविरुद्धको दुई वटा मैत्रीपूर्ण खेलको टिकटबाटै करोड बढी आम्दानी गर्ने भएको छ ।
दर्शक सहित मैत्रीपूर्ण फुटबल खेलाउने अनुमती पाएको एन्फाले रंगशाला पुगेर खेल हेर्ने दर्शकबाटै करोड बढी रुपैयाँ उठाउने भएको हो ।
मैत्रीपूर्ण खेलको टिकट दर हजार र दुई हजार तोकिएको छ ।
साधारणतर्फको प्यारापिटका दर्शकले हजार र मञ्च रहेको भीआईपीतर्फ बस्ने दर्शकले दुई हजार रुपैयाँको टिकट लिएर खेल हेर्न सक्नेछन् ।
सरकार र कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले एन्फालाई एक तिहांई दर्शक राख्ने अनुमती दिएको छ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पहिलो मैत्रीपूर्ण खेल हुने अघिल्लो दिनमात्र दर्शक सहितको खेल आयोजनाको अनुमती प्राप्त भएको जानकारी गराएका थिए ।
उनले प्रत्येक खेलमा ५१ सय दर्शकले प्रवेश पाउने बताएका थिए । एन्फाको आधिकारिक पे–मेन्ट पार्टनर प्रभु पे रहेको छ । प्रभु–पेले डिजिटल रुपमा सबै टिकट बिक्री गरेको छ ।
एन्फाले मैत्रीपूर्ण खेलका लागि प्रत्यक्ष प्रशारण अधिकार एडप्याडलाई बेचेको थियो ।
खुल्ला प्रतिस्पर्धाबाट एडप्याडले २५ लाख रुपैयाँ हालेर दुई खेलको प्रत्यक्ष प्रशारण अधिकार हात पारेको थियो । अन्तिम समयमा एडप्यालडले ठुलो रकम मैत्रीपूर्ण खेलका लागि दिन तयार भएको थियो ।
मैदानमा राखिने रनिङ बोर्डबाट समेत एन्फाले थप रकम आम्दानी गर्नेछ । भारतविरुद्धको मैत्रीपूर्ण फुटबल एन्फाका लागि आर्थिक हिसाबले समेत फाइदाजनक देखिएको छ ।
गत चैतमा नेपालमा थ्री नेसन्स कप आयोजना गरेर एन्फाले तीन करोड बढी रकम आम्दानी गरेको थियो । एन्फाको आन्तरिक मुख्य आयस्रोत भनेको टिकटबाट प्राप्त हुने रकम समेत हो ।
नेपालमा पछिल्लो समय अन्तराष्ट्रिय फुटबल प्रतियोगिता नहुँदा एन्फाको आम्दानी समेत घटेको थियो । सोही कारण एन्फाले खेलाडीलाई घोषित पुरस्कार समेत दिन सकेको थिएन ।