काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेव ह्वाटमोरले शुक्रबार अकस्मात पदबाट राजीनामा दिए।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि ओमान पुगेका ह्वाटमोरको राजीनामाले क्रिकेट तरंगित बन्यो।
एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त भएका ह्वाटमोरले सम्झौता नसकिदै राजीनामा दिएका हुन्। ओमान भ्रमण लगत्तै ह्वाटमोरले राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिनेछन् ।
खुल्ला प्रतिस्पर्धाबाट मुख्य प्रशिक्षक चुनिएका ह्वाटमोरको राजीनामाको कारणबारे धेरैको चाँसोको विषय समेत बनेको छ।
त्यसो त ह्वाटमोरको राजीनामाबाट नेपाल क्रिकेट संघ (क्यान) समेत चकित परेको छ। क्यानले सामाजिक संजालबाट प्रशिक्षकको राजीनामाले संघ आश्चर्यचकित भएको जनाएको छ।
तर, क्यानले ह्वाटमोरको राजीनामा नितान्त व्यक्तिगत रहेको जनाएको छ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पारिवारिक कारण देखाएर ह्वाटमोरले राजीनामा दिएको खेलपाटीलाई बताए ।
‘एक वर्षको सम्झौता थियो । कोभिडको बीचमा एक महिना बेलतबी बिदा समेत बसेका थिए । यस कठिन अवस्थामा परिवारसँग समय बिताउन चाहन्छु भनेर पत्र आएको छ । क्यान र खेलाडीसंग काम गर्ने चाहाना हुँदा हुँदै पनि सम्झौता पुरा गर्न सकिने भनेका छन्,’ चन्दले खेलपाटीसँग भने ।
अध्यक्ष चतुरबहादुर चन्दले संघ र प्रशिक्षकबीच कुनैपनि समस्या नरहेको दाबी समेत गरे।
‘अरु कुनै समस्या हैन । प्रशिक्षककै व्यक्तिगत समस्याका कारण सहकार्य पूरा हुन नपाएको हो,’ चन्दले थपे।
ह्वाटमोरको नेतृत्वमा नेपालले घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको थियो ।