काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् ।
आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले शुक्रबार राजीनामा दिएका हुन् ।
उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।
क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।
उनले क्यानसंग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका हुन् ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दले पारिवारिक कारण देखाउदै ह्वाटमोरले राजीनामा दिएको प्रष्टिकरण दिए ।
‘एक वर्षको सम्झौता थियो । कोभिडको बीचमा एक महिना बेलतबी बिदा समेत बसेका थिए । यस कठिन अवस्थामा परिवारसंग समय बिताउन चाहन्छु भनेर पत्र आएको छ । क्यान र खेलाडीसंग काम गर्ने चाहाना हुँदा हुँदै पनि सम्झौता पुरा गर्न सकिने भनेका छन् ।’ चन्दले खेलपाटीसंग भने ।
चन्दका अनुसार ओमान भ्रमण लगत्तै ह्वाटमोरले राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिनेछन् ।
‘अरु कुनै समस्या हैन । प्रशिक्षककै व्यक्तिगत समस्याका कारण सहकार्य पुरा हुन नपाएको हो ।’ चन्दले थपे ।
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा छ।
सिरिजका लागि ओमान पुगेका नेपाली टोलीले अन्तिम तयारी समेत सुरु गरिसकेकाे छ । खेलाडी र अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली टोलीले प्रशिक्षण थालेको थियाे ।
सिरिजको खेल तालिका समेत सार्वजनिक भईसकेको छ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी)सँग दुई एकदिवसीय खेल खेल्नेछ ।