काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले दुई स्थानमा राष्ट्रिय महिला क्रिकेट टिमको प्रारम्भिक बन्द प्रशिक्षण संचालन गर्ने भएको छ।
आईसीसी महिला विश्वकप छनोटका लागि क्यानले प्रदेश-२ र सुदूरपश्चिम गरि दुई स्थानमा टिमको बन्द प्रशिक्षण संचालन गर्ने तयारी गरेको हो।विश्वकप छनोट आगामी नोभेम्बरमा मलेसियामा हुनेछ ।
क्यानका सचिव अशोकनाथ प्याकुरेलले काठमाडौंको बन्द प्रशिक्षण अघि पूर्व क्षेत्र र सुदूरपश्चिममा 'क्याम्प' संचालन गरिने जानकारी गराए।
कोभिड-१९ को कारण काठमाडौंमा सबै खेलाडी उपलब्ध हुन नसक्ने भएको कारण दुई स्थानमा प्रारम्भिक चरणको प्रशिक्षण गर्ने योजना अघि बढाईएको सचिव प्याकुरेलले बताए ।
'महिला टिमको प्रशिक्षण चाडैं सुरु गर्ने तयारी गरेका छौँ। तर, केन्द्रको प्रशिक्षण अघि पूर्व र सुदूरपश्चिममा 'क्याम्प' संचालन गर्ने हाम्रो तयारी छ,' सचिव प्याकुरेलले भने, 'कोभिड-१९ को कारण पूर्व र सुदूरपश्चिममा ८-१० दिनको प्रारम्भिक चरणको बन्द प्रशिक्षण गर्ने संघको योजना हो।'
सचिव प्याकुरेलले पूर्व क्षेत्रका लागि जनकपुर र महोत्तरीमध्ये एक स्थानमा र सुदूरपश्चिमका लागि धनगढी र महेन्द्रनगर मध्ये एक स्थानमा प्रारम्भिक चरणको प्रशिक्षण संचालन गरिने बताए । सचिव प्याकुरेलले यसै साता प्रशिक्षण स्थलको तय हुने बताए।
दुई स्थानको बन्द प्रशिक्षणमा प्रारम्भिक चरणमा डाकिएका २४ खेलाडीसँगै अन्य खेलाडी समेत सामेल हुने छन्। त्यस प्रशिक्षणमा उत्कृष्ट देखिएका टिम बाहिरका खेलाडीलाई काठमाडौंको बन्द प्रशिक्षणमा समेत सामेल गराईने छ। क्यानले विश्वकप छनोटका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा २४ खेलाडीलाई बोलाएको थियो।
सचिव प्याकुरेलले वर्षाको कारण समेत टिमको तयारी अघि बढाउन नसकिएको बताए। मौषम अनुकुल भएपछि तत्काल टिमको तयारी संचालन गरिने उनले बताए।