काठमाडौं । टोकियो ओलम्पिक सक्किएको छ । यस पटक भारतीय खेलाडीले ७ पदक जिते । भारतले अहिलेसम्मको ओलम्पिकमा सबैभन्दा धेरै पदक हात पारेको हो । यसअघि भारतीय खेलाडीले सन् २०१२ को लण्डन ओलम्पिकमा ६ पदक जितेका थिए ।
निरज चोपडले भारतको १ सय २१ वर्षको ओलम्पिक इतिहासमा पहिलो पटक ट्रयाक एण्ड फिल्डमा स्वर्ण पदक जिते । उनले फाइनलमा ८७ दशमलव ५८ मिटर थ्रो गर्दै विश्वका भेट्रान ज्याभलिङ थ्रोअर्सलाई पछि पारे । निरजले अन्तरवार्तामा विदेशी प्रशिक्षकको महत्वपूर्ण योगदान रहेको बताए ।
निरजले ओलम्पिकको तयारीमा ७ करोड भारतीय रुपैयाँ खर्च गरेका थिए । विदेशमा उनको अभ्यास गर्न र प्रतियोगितामा भाग लिन ४ सय ५० दिनमा ४ दशमलव ८५ करोड खर्च भएको थियो । यस दौरान उनले २६ प्रतियोगितामा भाग लिएका थिए ।
साथै उनले दक्षिण अफ्रिका, पोल्याण्ड, टर्की, फिनल्याण्ड, चेक रिपब्लिक र स्विडेनमा समेत अभ्यासमा सहभागी बनेका थिए । ओलम्पिक अघि उनी तयारीका लागि युरोपियन प्रतियोगितामा भाग लिन गएका थिए । र ५० दिन स्विडेनमा अभ्यास क्यापमा रहेका थिए । यस अभ्यासमा भारतीय खेल प्राधिकरणले १९ लाख २२ हजार रुपैयाँ खर्च गरेको थियो ।
प्रशिक्षकलाई १ करोड २२ लाख तलब
निरज चोपडाले सन् २०१६ को रियो ओलम्पिक लगत्तै विदेशी प्रशिक्षकसंग प्रशिक्षण लिएका थिए । पहिलो उनले सन् २०१७ देखि २०१९ सम्म ज्याभलिङ थ्रोका महान खेलाडी उवे होनेको निगरानीमा अभ्यास गरेका थिए । त्यसपछि उनले डाक्टर क्लाउड बार्टोनिट्ससंग सिकेका थिए । टोकियोमा समेत क्लाउड उनीसंग थिए । उनले ज्याभलिङमा ४ लाख ३५ हजार खर्च गरेका थिए ।
जुनियर च्याम्पियनसिपमा स्वर्ण
निरजले सन् २०१६ मा अन्डर २० विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जितेपछि चर्चामा आएका थिए । उनले यस च्याम्पियनसिपमा ८६ दशमलव ४८ मिटर फ्याकेर विश्व कीर्तिमान बनाएका थिए । यस लगत्तै उनले जाकार्तामा भएको एसियन गेम्स, गोल्ड कोस्ट कमनवेल्थ गेम्स, सन् २०१७ को एसियन च्याम्पियनसिप, २०१६ को दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेका थिए । उनले सन् २०१६ मा जुनियर एसियन च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।
हक्की टिममा ८३ करोड भारतीय रुपैयाँ
पुरुष र महिला हक्की टिममा भारतीय खेल प्राधिकरणले ८३ करोड भारतीय रुपैयाँ खर्च गरेको छ । भारतीय पुरुष तथा महिला टिमले ५५ अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएको थियो । पुरुषले २९ म्याच र महिला टिमले २६ म्याचमा भाग लिएको थियो । यस दौरान पुरुष टिम १ सय ६ दिन देश बाहिर रह्यो । महिला टिम २ सय ८७ दिन बाहिर रहे । जसमा भारतको पुरुष टिमले हक्कीमा ऐतिहासिक कास्य पदक जितेको भारतीय दैनिक भास्करले उल्लेख गरेको छ ।
उल्लेखित तथ्याङले भारतले ओलम्पिकमा गरेको तयारी र खर्चको चित्र बताउँछ । विश्व खेलकुदको महाकुम्भमा देखिने प्रर्दशन र नतिजा देशको समृद्धिको बिम्व समेत हो । पछिल्लो समय खेलकुदमा भारतले गरेको लगानीले ओलम्पिकमा रंग र नतिजा लिदैछ । टोकियोमा भारतले १ स्वर्ण, दुई रजत र चार कास्य सहित ७ पदक जित्यो ।
ओलम्पिकमा भारतको चर्चासंगै नेपालतर्फ फर्कौ ।
टोकियो ओलम्पिक नेपालले पौडी र एथलेटिक्समा युनिभर्सालिटी कोटा र सुटिङ र जुडोमा वाइल्ड कार्डमार्फत सहभागी बन्यो । तेक्वान्दोका दिपक विष्ट र संगिना वैद्य बाहेक कुनैपनि खेलाडीले छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका छैनन् ।
टोकियो ओलम्पिकका लागि समेत नेपालले खासै मेहनत गरेन । नेपाल ओलम्पिक कमिटी (एनओसी) तीन वर्ष सुत्ने र एक वर्ष जाग्ने प्रचलन पुरानै हो । खेलकुद नीतिनै नभएको देशले खेलकुदमा हासिल गर्ने लक्ष्यबारे चर्चा गर्नुनै अर्थहिन हुन्छ ।
टोकियो ओलम्पिकको तयारीमा समेत खेलकुदको सर्वोच्च निकाय राखेप र ओलम्पिक तीन वर्ष सुत्ने काम गरे । आईओसीबाट खेलाडीलाई भत्ता आउने भएपछि ओलम्पिकको तयारी तिव्र बन्यो । जति खेलाडीले आईओसीको छात्रवृत्ति पाए, उनीहरु ओलम्पिकनै गएनन् । जति गए, सबै बाहिरका थिए ।
पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाह देश बाहिरै बस्छन्, उतै प्रशिक्षण गर्छन् । सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले वाइल्ड कार्ड पाए । दुवैले ओलम्पिकको छात्रवृत्ति पाएका थिएनन् ।
एथलेटिक्सकी सरस्वती चौधरीले उड्ने समयमा मात्र ओलम्पिक खेल्ने थाहा पाईन् । बरु ओलम्पिक जाने जम्बो टोली र मर्यादा भूलेर म्यानेजर बनेका ओलम्पिकमा आबद्ध राष्ट्रिय संघका अध्यक्षहरु चर्चा र विवादमा आए ।
खेलकुद व्यक्तिगत र राजनीतिक स्वार्थ पुरा गर्ने केही सिमित व्यक्तिको साधन भन्दा माथि उठ्न सकेन । खेलकुदमा राज्यको लगानी र योजना पनि देखिएन । नेपाली खेलकुदको संस्थागत र नीतिगत सुधारसंगै राज्यको योजनाबद्ध लगानीले मात्र देशको ओलम्पिकमा पदकको सम्भावना देखिन्छ ।