काठमाडौं । श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डीमालले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
चण्डीमालले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन् ।
भैरहवाले बिहीबार एक विज्ञप्ति निकाल्दै चण्डीमालले टिमबाट ईपीएल खेल्ने जनाएको छ ।
भैरहवामा नेपाली खेलाडीमा शरद भेषवाकर, प्रदीप ऐरी, मोहम्मद आरिफ शेख, कृष्ण कार्की, भुवन कार्की, दीपेश श्रेष्ठ, रोहित कुमार पौडेल, हरि शंकर झा, अभिनाश बोहरा, कुशल मल्ल, विकास आग्री र हिमान्शु दत्त रहेका छन् ।
चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र नेपाल क्रिकेट संघ (क्यान) ले मान्यता दिईसकेको छ ।
साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् ।
को हुन् चण्डीमाल ?
चण्डीमाल श्रीलंकाको टी-ट्वान्टी टिमको कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन् । सन् २०१३ मा चण्डीमालले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टी-ट्वान्टी नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए ।
सन् २०१४ को टी-ट्वान्टी विश्वकप उपाधि श्रीलंकाले जित्दा चण्डीमाल पनि उक्त टोलीका सदस्य थिए । श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । चण्डीमाल एकदिवसीयमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन् । उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए ।
चण्डीमालले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ एकदिवसीय र ५७ टी-ट्वान्टी आई खेल खेलेका छन् । टी-ट्वान्टीमा चण्डीमालले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन् । चण्डीमालले राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन् ।
३१ वर्षीय विकेटकिपर ब्याट्सम्यान चण्डीमाल श्रीलंकाको वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन् । चण्डीमालले श्रीलंकाको टेस्ट, एकदिवसीय र टी-ट्वान्टी गरि तीनै फर्म्याटमा कप्तानी गरेका छन् ।