काठमाडौं । वेस्ट इन्डिज र पाकिस्तानबीचको दुई टेस्टको सिरिज बिहीबारदेखि सुरु हुँदैछ र त्यसको पहिलो खेल जमैकाको प्रसिद्ध सबिना पार्कमा हुनेछ । त्यस अगाडि घरेलु प्रशिक्षक फिल सिमोनले आफ्नो टिमको ब्याटिङमा सुधार हुने आशा पोखेका छन् । पाकिस्तानले प्रतिद्वन्द्वीका रूपमा बलियो चुनौती पेस गर्ने निश्चित रहेको छ ।
दुई महिना अगाडि दक्षिण अफ्रिकाविरुद्धको यस्तै दुई टेस्ट सिरिजमा वेस्ट इन्डिजको ब्याटिङ निकै कमजोर रहेको थियो । त्यस क्रममा प्रशिक्षक सिमोनले आफ्ना विशेषज्ञ टेस्ट खेलाडीको प्रदर्शन औसत मात्र रहन सकेको मानेका थिए । त्यसैले उनले भनेका छन्, ‘टेस्ट क्रिकेटमा हामीले अहिले शून्यको स्थितिबाट सुरु गर्नु पर्नेछ ।’
पछिल्ला केही वर्षदेखि टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको प्रदर्शन निकै कमजोर रहेको छ । यसैक्रममा क्रेग ब्राथवेटको नेतृत्वमा रहेको वेस्ट इन्डिज टिम दक्षिण अफ्रिकाको हातबाट दुवै खेलमा पराजित रहेको थियो । त्यसमा दक्षिण अफ्रिकाका तीन पेस बलरले वेस्ट इन्डिजलाई धरासायी बनाएको थियो ।
सम्भवत: पाकिस्तानको बलिङ आक्रमण पनि उत्तिकै स्तरीय रहेको हुनाले यो वेस्ट इन्डिजका लागि चिन्ताको विषय हुन सक्नेछ । भ्रमणकारी पाकिस्तानका लागि भने वेस्ट इन्डिजको यही कमजोरी फाइदाको विषय हुनेछ र उसको लक्ष्य नै रहनेछ, घरेलु ब्याट्सम्यानलाई सकेसम्म सस्तोमा समेट्ने र विपक्षी टिमलाई दबाबमा राख्ने ।
–एएफपीको सहयोगमा ।