एजेन्सी । स्विस खेलाडी रोजर फेडेररले जर्मनीमा सम्पन्न मर्सिडिज कप टेनिसको उपाधि जितेका छन् । आइतबार राति भएको फाइनलमा क्यानाडाका मिलोस राओनिकलाई हराउदै फेडेररले उपाधि जितेका हुन् ।
नयाँ वरियतामा विश्व नम्बर एक रहने फेडेररले राओनिकलाई ६-४ र ७-६(७-३) को सेटमा हराएका हुन् । झन्डै साढे दुई महिना टेनिस कोर्टबाहिर रहेका फेडेररले पहिलो सहभागितामै उपाधि जितेका हुन् । फेडेरर गत मार्चपछि पहिलोपटक कोर्टमा फर्किएका हुन् ।
२० पटकको ग्राण्डस्लाम विजेता ३६ बर्षीय फेडेरर मर्सिडिज कपको उपाधिसँगै सोमबारबाट टेनिसको विश्व वरियताको शीर्ष स्थानमा हुनेछन् । फेडेररले स्पेनिस राफायल नाडाललाई पछि बनाउने छन् ।