एजेन्सी । अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले टोकियो ओलम्पिकमा स्वर्ण पदक विजेता दुई खेलाडीमाथि अनुसन्धान थालेको छ ।
आईओसीले खेल भावना विपरीत कार्य गरेको विषयमा साइक्लिङका दुई स्वर्णधारी बाओ सान्जु र शङ टियान्सीमाथि अनुसन्धान सुरु गरेको हो ।
टोकियो ओलम्पिकमा यी दुई जोडीले ट्रयाक साइक्लिङको महिला स्प्रिन्ट टिममा स्वर्ण पदक जितेका थिए ।
तर, पदक वितरण समारोहमा दुबै खेलाडी चिनियाँ कम्युनिस्ट पार्टीका पूर्व नेता माओ त्सेतुङको 'ब्याच' लगाएर उपस्थित भएका थिए । जसको कारण उनीहरुमाथि अनुसन्धान थालिएको हो ।
ओलम्पिक खेलकुद आयोजना स्थलमा कुनैपनि राजनैतिक, धार्मिक वा जातीयताको बारेमा प्रचार प्रसार र प्रदर्शन गर्न नपाईने ओलम्पिकको नियम रहेको छ ।
आईओसीले दुई खेलाडीले नियम तोडेको विषयमा चिनियाँ ओलम्पिक कमिटिसँग रिपोर्ट माग समेत गरेको छ ।