एजेन्सी । टोकियो ओलम्पिक अन्तर्गत एथलेटिक्सको १०० मिटर दौडमा इटालीका ज्याकोब्स लामोन्ट मार्सेलले स्वर्ण पदक जितेका छन् ।
ओलम्पिक स्टेडियममा आइतबार मार्सेलले निर्धारित दुरी ९.८० सकेन्डको समय निकाल्दै स्वर्ण पदक जितेका हुन् ।
यससँगै मार्सेल १०० मिटरमा नयाँ च्याम्पियन बनेका छन् । मार्सेल यस स्पर्धामा स्वर्ण जित्ने पहिलो इटालियन समेत बनेका छन् ।
यस अघि १०० मिटरमा जमैकन धावक उसेन बोल्टले वर्चश्व कायम राख्दै आएका थिए । तर, बोल्टले सन्यास घोषणा गरिसकेका छन् । यस स्पर्धामा बोल्टको नाममा ९.५८ सकेन्डको विश्व कीर्तिमान रहेको छ ।
यस्तै अमेरिकाका केर्ली फ्रेडले ९.८४ सकेन्डसहित रजत जित्दा क्यानडाका डी आन्द्रेले ९.८९ सेकेन्डसहित कास्य पदक जिते ।